काठमाडौँ, जेठ २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजस्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानुनी काम गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल तीन करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । तीन करोड ७२ लाख ४४ हजार ७ सय ५५, तत्कालीन लेखापालहरू रुद्रप्रसाद दाहाल तीन करोड ४८ लाख ९३ हजार २ सय १६, अर्जुन भट्टराई दुई करोड १७ लाख ३२ हजार ४ सय ७३ र कृष्णप्रसाद कट्टेल ७३ लाख ६२ हजार ४ सय ५५ बराबरको बिगो दाबी गरिएको छ ।
यसैगरी कम्प्युटर अपरेटरहरू सुजन राई २२ लाख ४४ हजार ३ सय ३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ बराबरको बिगो दाबी गरिएको छ । कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल एक लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध ४५ हजार ४ सय ६१ बराबरको बिगो दाबी गरिएको छ ।