काठमाडौं । अबको पाँच दिनभित्र भारतसँग विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण नभए नेपालमा ‘लोडसेडिङ’ हुनेभएको छ । नेपालले भारतको प्रतिस्पर्धी बजारमार्फत वर्षायाममा विद्युत् निर्यात गर्दै आएको छ भने सुक्खायाममा आयात गर्दै आएको छ । नेपालमा हिउँदमा करिब दुई हजार मेगावाट विद्युत् माग हुने विद्युत् प्राधिकरणले जनाएको छ । हिउँदमा जम्मा बजिुली उत्पादन १४ सय मेगावाट हाराहारी मात्रै छ । यस आधारमा अपुग हुने करिब छ सय मेगावाट भारतको प्रतिस्पर्धी बजारबाट आयात गरेर आपूर्ति गरिन्छ ।
विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारबाट बिजुली आयात निर्यात गर्दै आएको छ । नेपालले २०७८ वैशाखमा पाँच वर्षका लागि यो बजारमा कारोबार गर्ने अनुमति पाएको थियो । तर, यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्छ । गतवर्ष चैत १८ गते (३१ मार्च)का दिन नवीकरण भएकोमा यस वर्ष सोही दिनभित्र नवीकरण हुनुपर्छ ।
अब पाँच दिनभित्र नवीकरण नभए नेपालमा लोडसेडिङ हुने सम्भावना छ । किनभने मागभन्दा आपूर्ति निकै कम छ । भारतबाट बिजुली आयात गर्न नसके लोडसेडिङ गर्नुको विकल्प नरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
सम्झौता नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि भारतीय पक्षले चासो देखाएको छैन । गतवर्ष पनि अन्तिम दिनमा नवीकरण भएको थियो । सरोकारवालाले नेपालमा सत्ता गठबन्धनमा फेरबदल भएपछि भारतले दबाब दिन विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्न आनाकानी गरेको हुनसक्ने आशंका गरेका छन् ।
विद्युत् आयात गर्ने सम्झौता नवीकरण किन हुन सकेन भन्नेबारे ऊर्जा मन्त्रालयका अधिकारीहरू नै अनभिज्ञ छन् । नेपालले नवीकरणका लागि पत्र पठाए पनि भारतले औपचारिकरूपमा कुनै जानकारी दिएको छैन । यद्यपि भारतमा आउँदै गरेको चुनावका कारण ढिलाइ भएको हुनसक्ने ऊर्जाका अधिकारीहरू बताउँछन् । नेपालले भारतको प्रतिस्पर्धी बजारबाट बिजुली किन्दा प्रतियुनिट मूल्य सस्तो पर्ने गरेको विद्युत् प्राधिकरणका अधिकारीहरूले दाबी गर्दै आएका छन् ।
अहिले नै बिजुली आपूर्ति कम हुँदा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भइराखेको उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । भारतबाट बिजुली आयात रोकियो भने उद्योगमा थप बिजुली कटौती हुने प्राधिकरणले बताएको छ ।