काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
नेपालमा उत्पादन भएको सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र केन्द्र (टीइपीसी)का कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार टीइपीसी र एनआरएनएको सहकार्यमा नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली डायस्पोरामा बढीभन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।