घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा बिहीबार भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएका बताएकी छिन् ।
मन्त्री शर्माले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताइन् । उनले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिइन् । सो अवसरमा उनले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा राखिन् ।
मन्त्री शर्माले कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गरिन् । पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।