काठमाडौं । यस आर्थिक वर्षको साढे आठ महिनामा चार खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । २०८० असार मसान्तमा ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । २०८० चैत १२ गते बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरूको निक्षेप चार खर्ब नौ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ७२ अर्ब रुपैयाँ थियो । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सात खर्ब १३ अर्ब छ । गत असारयता १५ अर्ब रुपैयाँ निक्षेप बढेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको गत असारमा कुल निक्षेप छ खर्ब ९८ अर्ब रुपैयाँ थियो ।
साढे आठ महिनामा बैंक तथा वित्तीय संस्थाले एक खर्ब ७३ अर्ब रुपैयाँ कर्जा बढाएका छन । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋण अहिले ५० खर्ब ५२ अर्ब रुपैयाँ छ ।
गत असार मसान्तमा ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह थियो । विकास बैंक र फाइनान्स कम्पनीहरूले अहिलेसम्म पाँच खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
करिब डेढ वर्षयता देखिएको अर्थिक मन्दीको असर वित्तीय प्रणालीमा पनि देखिएको छ । गत आर्थिक वर्षमा निक्षेप कम हुँदा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका थिए । केन्द्रीय बैंकले पनि महँगी नियन्त्रण गर्न ब्याजदर बढाउने नीति लिएको थियो । यसको असरले बजारमा उपभोग घट्यो । माग पक्ष कमजोर हुँदा उत्पादन पनि घट्यो । यसको असर बैंकमा कर्जाकोे माग कम देखियो । चालू आर्थिक वर्षकोे सुरुदेखि नै वित्तीय प्रणालीमा निक्षेप बढिरहेको छ । तर, कर्जाको माग बढ्न सकेको छैन ।
अहिले बैंकहरूले ब्याजदर घटाएर एकल विन्दुमा झारिसकेका छन् । कर्जाको ब्याजदर पनि घटेको छ । तर पनि ऋणको माग नबढेको बैंकरले बताएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ६४ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाहरूसँग थप चार खर्ब ५२ अर्ब रुपैयाँ ऋण प्रवाह गर्ने क्षमता छ । अन्तरबैंक ब्याजदर पनि दुई दशमलव ७६ प्रतिशत छ । केन्द्रीय बैंकले एक साता अघि करिब एक खर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गरेर निक्षेप व्यवस्थापन गरेको थियो ।