काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र यसका कार्यकारी अध्यक्ष सुरेन्द्र भण्डारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार भण्डारीले विभिन्न बैंकहरूसँग कर्जा लिएर चलाए पनि कर्जा चुक्ता नगरेपछि तिनै बैंकहरूको सिफारिसमा २०८० जेठ ९ गते भण्डारी संलग्न रहेको कम्पनी भैरवकुण्ड हाइड्रोपावर कम्पनीलाई कालोसूचीमा राखिएको थियो ।
केन्द्रका अनुसार भण्डारी र उनी संलग्न कम्पनीहरूको कालोसूची नम्बर ६६८२८ रहेको छ । भण्डारी संलग्न रहेको भैरवकुण्ड हाइड्रोपावर कम्पनी लिमिटेडमा आबद्ध भएका सञ्चालक एवं सेयरधनीहरू अमृतकुमार खड्का, अनिलभक्त श्रेष्ठ, अर्जुनबहादुर थापा, बच्चु पौडेल, विष्णुबहादुर खत्री, चन्द्रबहादुर शेर्पा, डोरबहादुर भण्डारी, दुर्गाबहादुर श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद माली, कमलकुमार श्रेष्ठ, केदारबहादुर थापा, एमएनके ग्र्रुप, माली मर्चेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी, मल्टिपल इन्भेस्टमेन्ट कम्पनी पनि कालोसूचीमा परेका छन् । यीबाहेक भैरवकुण्ड हाइड्रोसँग सम्बन्धित नरेशलाल श्रेष्ठ, राजेश श्रेष्ठ, रामकाजी पौडेल, सामना मल्टिपल इन्भेस्टमेन्ट कम्पनी, साँङग दोर्जे शेर्पा, सँङबु शेर्पा, शिवराम श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, सिताराम बस्नेत, सुविधाशक्ति इन्भेस्टमेन्ट कम्पनी र सुरेश श्रेष्ठ समेतलाई कालोसूचीमा राखिएको केन्द्रको भनाइ छ ।
केन्द्रका प्रवक्ता विजय कुमारका अनुसार भण्डारी संलग्न लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई पनि २०८० पुस २४ गते कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कुनै पनि व्यक्ति, संस्था तथा कम्पनीहरूको सम्पूर्ण बैंक खाताहरू रोक्का हुने पनि प्रवक्ता विजय कुमारले जानकारी दिए ।
बचतकर्ताहरूलाई अनलाइन मागदाबी पेस गर्न आह्वान
ललितपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारीको व्यवस्थापन समितिले शुक्रबार आह्वान गरेको छ । समितिले शुक्रबार बचतकर्ताहरूको नाममा सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र मागदाबी पेस गर्न आह्वान गरेको हो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० फागुन २९ गते लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व फछ्र्यौट गर्न समितिमा पठाएको थियो ।