काठमाडौं, जेठ २६
नबिल बैंकले आकर्षक ब्याजसहितको युुवा लक्षित कार्यक्रम सुरु गरेको छ । बैंकले युवा पुस्ताका लागि ‘नबिल जेनेरेसन एकाउन्ट’ नामको खाता सञ्चालनमा ल्याएको हो । विश्वव्यापीरूपमा फैैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंकले उक्त योजना सञ्चालनमा ल्याएको हो । बैंकले सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेनेरेसन एकाउन्ट’ सञ्चालनमा ल्याएको जनाएको छ ।
समुदायमा घातक रोगहरूको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पु-याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षणसहित नबिल बैंकले १३ प्राणघातक रोगहरू तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकले यो योजनामा ‘नविल जेनेरेसन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गरिएको छ । १८ वर्षमाथिका नेपाली नागरिकले उक्त खाता खोली यसको लाभ लिई सक्नेछन् । यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक विश्वस्त छ । बैंकले हालसम्म एक सय १८ वटा शाखा, एक सय ७५ वटा एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल एजेन्टमार्फत बिमभि सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा तीन अर्ब १९ करोड १० लाख ७० हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ७१ अर्ब दुुई करोड ४३ लाख २८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ अर्ब ३९ करोड आठ लाख ९८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैकले एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुुई लाख ४३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ४१ करोड ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।