विराटनगर, जेठ २७
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सरकारको राजस्व संकलन धराशयी भइरहेको अवस्थामा भन्सारमा राजस्व संकलनमा खटिने कर्मचारीलाई भने कमाउने अवसर बनेको छ । नेपालको मुख्य आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र आयात तथा निर्यातबाट असुल्ने राजस्व नै हो । तर अहिले तीन महिनादेखि कोभिड–१९ को त्रासबाट मुलुक लकडाउनमा गएसँगै सरकारको राजस्व असुली समेत नराम्रो गरी प्रभावित बन्न पुगेको छ । प्रदेश १ को विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षको पुस महिनादेखि नै सरकारको लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन ।
गत चैत्र ११ गतेबाट कोरोना भाइरसका कारण सुरु भएको लकडाउनले राजस्व संकलन गर्न नसक्ने विराटनगर भन्सार कार्यालयलाई फेरि पनि लक्ष्य नपुगेको बाहना बनाउन सहज भएको छ । तर विराटनगर भन्सारका प्रमुख शिव भण्डारीको सेटिङमै भन्सारमा आएका मालवस्तुको भन्सार मूल्याङ्कन गर्ने प्रक्रियादेखि भन्सार जाँचपास समेत हुने गरेको पाइएको छ ।
विराटनगर भन्सारप्रमुख शिव भण्डारीले आफ्ना अनुकूलको भन्सार अधिकृत सुनिता पौडेल र सुब्बा रमेश माझीलाई विराटनगर भन्सारको मूल्याङ्कन फाँटमा खटाएर आफूअनुकूलका भन्सार एजेन्टमार्फत भन्सार मूल्याङ्कन नै परिवर्तन गरी भन्सारमा आइसकेका मालवस्तुको जाँचपास गर्ने गरेको समाचारस्रोतले जनाएको छ । यो कामका लागि लकडाउन सुरु भएको एक महिनापछि जिम्मेवार भन्सार अधिकृतलाई भन्सार मूल्याङ्कनबाट हटाएर अधिकृत सुनिता पौडेल र सुब्बा रमेश माझीलाई भन्सार मूल्याङ्कन फाँटको जिम्मेवारी दिएका थिए । अधिकृत पौडेलले भन्सार एजेन्टलाई प्राथमिकताका आधारमा भन्सार मूल्याङ्कन गर्न थालेपछि भन्सारमा भएको संस्थागत भ्रष्टाचारको रहस्य खुलेको हो । पछिल्लो समय अधिकृत पौडेलले भन्सारमा रहेको ग्रीन च्यानलबाट व्यवसायी सञ्जित भगतको सटिङ सुटिङ कपडा पास गरेपछि विराटनगर भन्सारमा हल्लीखल्ली मच्चिन पुगेको छ ।
विराटनगर भन्सारमा रहेको भन्सार एजेन्ट स्रोतका अनुसार भन्सारमा जाँचपासका लागि आउने सटिङ सुटिङ कपडामा विभिन्न ब्राण्डका कपडा हुने भएकाले उक्त सामान रेड च्यानलबाट मात्र पास हुने प्रावधान रहेको छ । तर अधिकृत पौडेल र भन्सारप्रमुख शिव भण्डारीको सेटिङमै उक्त कपडा ग्रीन च्यानलबाट पास हुने गरेका छन् । सरकारले राजस्व संकलनको मुख्य जिम्मेवार निकायमा आसिन व्यक्तिहरू नै कोरोना महामारीमा कमाउन व्यस्त हुँदा धराशायी बनेको मुलुकको अर्थतन्त्र नै ध्वस्त हुने विश्लेषकहरूको भनाइ छ । बिराटनगर भन्सारले लगातार गत पुस महिनादेखि सरकारले तोकेको लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि विराटनगर भन्सारलाई भन्सार विभागको रेकर्डमा समेत असक्षम प्रमाणित गरेको विभाग स्रोतले बताएको छ ।