काठमाडौं । नेपाल राष्ट्र बैंकले ३२ करोड रूपैयाँबराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै उक्त परिमाणमा रकम लगानीको लागि आह्वान गरेको हो ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको पैसा बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न लागेको जनाएको छ ।
लगानी गरिने रकमको लागि बैंक तथा वित्तीय संस्थाहरूले चैत २५ गतेसम्ममा लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिन आह्वान गरेको छ । रकम लगानीको अवधि एक सय ८८ दिन अर्थात् विसं २०८१ वैशाख ३ गतेदेखि २०८१ कात्तिक तीन गतेसम्म तोकिएको छ । लगानीको लागि छुट्याइएको रकममध्ये वाणिज्य बैंकहरूको लागि २५ करोड ६० लाख, विकास बैंकहरूको लागि चार करोड ८० लाख र फाइनान्स कम्पनीहरूको लागि एक करोड ६० लाख रूपैयाँ छुट्याइएको छ ।
निक्षेप राख्न बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधान तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा रहेको, बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा उनीहरू बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधान तोकेको छ ।