काठमाडौं । अर्थतन्त्रकोे बाह्य क्षेत्रका सूचकहरू बढेका छन् । तर, आन्तरिक अर्थतन्त्र अझै दबाबमा देखिएको छ । बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बाह्य क्षेत्रका सूचकहरू सकारात्मक छन् भने केही आन्तरिक सूचकहरू अझै पनि दबाबमा देखिएका छन् । रेमिट्यान्स आप्रवाह र विदेशी विनिमय सञ्चिति बढेको छ भने शोधनान्तर खाता बचतमा छ । यस्तै, सेवा आय घाटामा छ । मूल्यवृद्धि दर नियन्त्रण उन्मुख छ भने ब्याजदर घटे पनि निजी क्षेत्रमा जाने कर्जा बढ्न सकेको छैन । आयातमा देखिएको संकुचनका कारण सरकारी वित्त प्रभावित भएको छ ।
मूल्यवृद्धि नियन्त्रण उन्मुख
माघ महिनामा पाँच दशमलव शून्य एक प्रतिशत रहेको उपभोक्ता मूल्यवृद्धि दर फागुनमा चार दशमलव ८२ प्रतिशतमा झरेको छ । एक महिनामा शून्य दशमलव १९ प्रतिशत विन्दुले मूल्य वृद्धिदर घटेको छ । राष्ट्र बैंकका अनुसार एक वर्षमा दुई दशमलव ६२ प्रतिशत विन्दुले उपभोक्ता मूल्यवृद्धि दर खुम्चिएको छ । गतवर्ष फागुनमा मूल्यवृद्धि दर सात दशमलव ४४ प्रतिशत थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मूल्यवृद्धि दर खुम्चिएको देखाएको हो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि पाँच दशमलव ९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि तीन दशमलव ९५ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २८ दशमलव १७ प्रतिशत, तरकारीको १४ दशमलव शून्य सात प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव २२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको सात दशमलव ११ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ११ दशमलव ७९ प्रतिशतले घटेको छ ।
अन्य वस्तुको तुलनामा खाद्यपदार्थको मूल्यवृद्धि अझै उच्च देखिएको छ । जसले गर्दा सर्वसाधारण उपभोक्ताले महँगी घटेको अनुभूति गर्न सकेका छैनन् ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १० दशमलव ६७ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक एक दशमलव १५ प्रतिशतले घटेको छ ।
रेमिट्यान्स नौ खर्ब ६१ अर्ब भित्रियो
चालू आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँबराबरको रेमिट्यान्स आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको छ । गतवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । गतवर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।
फागुनमा महिनामा एक खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन माघमा भन्दा १६ अर्ब रुपैयाँ बढी हो । माघमा एक खर्ब छ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।
विदेशी विनिमय सञ्चिति झण्डै १९ खर्ब
नेपालको विदेशी विनिमय सञ्चिति करिब १९ खर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति २०८० फागुन मसान्तमा २१ दशमलव सात प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले बढेर १४ अर्ब १४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० फागुन मसान्तमा २२ दशमलव दुई प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब छ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले बढेर दुई खर्ब २८ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार, गत फागुनसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ महिना २४ दिनको वस्तु आयात र १२ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
शोधनान्तर खाता तीन खर्ब २७ अर्ब बचतमा
मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्बले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालू खाता एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा छ ।
सेवा आय घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्रका अनुसार खुद सेवा आय ४४ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा भ्रमण आय ४२ दशमलव एक प्रतिशतले बढेर ५१ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । एक वर्षअघि यस्तो आय ३६ अर्ब १६ करोड थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४५ दशमलव सात प्रतिशतले बढेर एक खर्ब २२ अर्ब ८१ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८४ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ५४ अर्ब ७० करोड थियो ।
निजी क्षेत्रमा जाने कर्जा सुस्त
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव पाँच प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । तर, आठ महिनामा जम्मा चार दशमलव दुई प्रतिशतले बढेको छ ।
अहिले वित्तीय प्रणालीमा साढे पाँच खर्ब हाराहारी लगानीयोग्य रकम छ । तर, आठ महिनामा एक खर्ब ९९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।
कर्जाको ब्याजदर सस्तो हुँदै गए पनि अर्थतन्त्र चलायमान बन्न नसक्दा कर्जाको माग बढ्न नसकेको बैंकरले बताउँदै आएका छन् । बिहीबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढेको बताएको थिए । उनले कर्जाको भारित औसत ब्याजदर तल आइसक्दा समेत माग नबढेको बताए । ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसक्नुले अर्थतन्त्र अझै पनि दबाबमा रहेको संकेत गर्छ ।