बारा, जेठ २७
बारा जिल्ला, विश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा छोटेलालप्रसाद चौहानले माछाको भुरा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मत्स्य ह्याचरी १३ वर्षदेखि सञ्चालन गरेका उनी माछा व्यवसायमा भने ३२ वर्षदेखि लागेका हुन् । उनले अहिले दश जातका भुरा उत्पादन गरेर देशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् । उनको मत्स्य ह्याचरीमा बिग्रेड काप, कमन ग्रास काप, रहु, सिल्भर काप, भकुरा, नैनी, मङ्गुरी जातका भुराहरू हाइब्रिड र लोकल उत्पादन हुने गरेको छ ।
उनले भुरा उत्पादनबाट प्रतिवर्ष १० लाखदेखि १२ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताए । २०४२ सालदेखि माछा व्यवसायमा लागेका चौहानले २०६४ सालमा परवानीपुरस्थित मत्स्य केन्द्रका प्राविधिक शुक्लकुमार प्रधानबाट प्रभावित भएर ह्याचरी सञ्चालनमा ल्याएका हुन् । ह्याचरीमा अहिले उनको छोराले पनि सघाउँदै आएका छन् । ह्याचरीमा उत्पादित माछा पर्सा, बारा, रौतहटका साथै मकवानपुर, कास्की, काठमाडौं, चितवनसम्म पु¥याउने गर्छन् । बाहिरका व्यापारीहरू पनि भुरा खरीदको लागि उनको ह्याचरीमा आउने गर्छन् ।