काठमाडौँ । मानव बेचबिखनविरुद्धको लडाइँमा समर्पित संस्था माइती नेपालले आफ्नो ३२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार पैदल यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखनको जघन्य अपराधलाई सफा गर्न ३२ वर्षदेखि समर्पित रहेको उल्लेख गर्दै माइती नेपालको यात्रामा साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरिन ।
‘न्यायका लागि यात्राः मानव बेचबिखनको अन्त्य’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकभित्रै हुने आन्तरिक मानव बेचबिखनलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिइन।
पिङ्गलास्थानस्थित माइती नेपाल प्रधान कार्यालयबाट बिहान सुरु भएको पैदलयात्राको उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारी, वडा १० का अध्यक्ष रामकुमार केसी, गौशाला प्रहरीका प्रमुख, माइती नेपालका संस्थापक अध्यक्ष कोइराला, कार्यकारी निर्देशक विश्वराम खड्कालगायत विभिन्न सङ्घसंस्थाका व्यक्तिको उपस्थिति थियो ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको अन्धकारलाई अन्त्य गर्न चेतना र ऐक्यबद्धताको दीप प्रज्वलन गरिरहनुपर्ने बताए ।
पैदलयात्रा त्रिभुवन विमानस्थल, सिनामङ्गल, पुरानो बानेश्वर, गौशाला हुँदै सम्पन्न गरिएको थियो । मानव बेचबिखन रोकथाम, उद्धार र पुनःस्थापनामा माइती नेपालले गरिरहेको प्रयासका लागि जनचेतना जगाउने कार्यमा सहभागीहरूले एकता र ऐक्यबद्धता जनाएको थियो ।
माइती नेपाल मानव बेचबिखनविरुद्ध लड्न, पीडितको उद्धार र पुनःस्थापना, सचेतना जगाउने र यो जघन्य अपराध रोक्न आमजनमानसलाई सशक्तीकरण गर्ने कार्यमा समर्पित गैरनाफामूलक संस्था हो । माइती नेपालले सन् २०२३ मा महिला र बालबालिका बेचबिखन तथा विभिन्न प्रकारका शोषण र हिंसाविरुद्धको आफ्नो अथक प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।
सन् १९९३ मा स्थापना भएको माइती नेपाल मानव बेचबिखन, बालबालिकाको व्यावसायिक यौनशोषण र घरेलु हिंसाबाट प्रभावित असङ्ख्य व्यक्तिका लागि आशाको किरण बनेको छ ।