काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार तथा गणितविज्ञ प्राडा गीताभक्त जोशीले नकारात्मक छुटमा मूल्य बढ्ने बताएका छन् । विश्वबजारमा धेरै क्षेत्रहरूमा नकारात्मक छुटको प्रयोग हुनेगरेको भए पनि नेपालमा भने विशेषगरी ठेक्कापट्टा, बीमा र बैंकिङ क्षेत्रमा नकारात्मक छुटको प्रयोग हुनेगरेको छ । सोही आधारमा पनि केही व्यक्तिहरूले नकारात्मक छुटको अर्थ मूल्य अझै घट्नु भनेर अपव्याख्या गरिरहेको अवस्थामा राष्ट्रिय योजना आयोगको पूर्वसदस्य समेत रहेका जोशीले नकारात्मक छुटको अर्थ मूल्य अझै घट्नु नभई बढ्नु भएको बताएका हुन् ।
सामान्यतया गणितीय शास्त्रमा माइनस–माइनस जोड्दा प्लस हुन्छ । गणितको सर्वमान्य सिद्धान्त र सूत्र पनि यही हो । यही कुरा नकारात्मक छुटको विषयमा पनि लागू हुन्छ । ‘छुट भनेको मूल्य घट्नु हो र नकारात्मक छुट भनेको मूल्य अझै घट्नु हो भन्छन् भने त्यो गलत हो, गणितको सर्वमान्य सिद्धान्तलाई अपव्याख्या गर्न मिल्दैन’, उनले भने, ‘कुनै एउटा वस्तुको मूल्यमा २० प्रतिशत छुट दिइन्छ भने त्यसको मूल्य २० प्रतिशतले घटेको हुन्छ तर त्यो वस्तुमा २० प्रतिशतले नकारात्मक छुट दिइन्छ भने, त्यसको मूल्य २० प्रतिशतले बढ्छ नै ।’
प्राध्यापक डा. जोशीले गणितको सर्वमान्य सिद्धान्तलाई बिगार्न र गलत तरिकाले व्याख्या गर्न नमिल्ने बताए । ‘गणितको सर्वमान्य सिद्धान्त यही नै हो, यस अर्थमा पनि नकारात्मक छुट भनेको मूल्य घट्नु नभई बढ्नु हो, यसमा कसैले द्विविधा नराखौँ, छुट र नकारात्मक छुट फरक हो, नकारात्मक छुटको विषयमा विश्व परिवेशले अंगीकार गरेको सर्वमान्य सिद्धान्तलाई पनि हेरौँ’, प्राडा जोशीले भने ।