काठमाडौं । डिजिटल बैंकिङ सेवालाई प्रभावकारी र सहज बनाउने उद्देश्यले विभिन्न योजनाहरू ल्याइरहेको माछापुच्छ्रे बैंक लिमिटेडले हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पेसँग सम्झौता गरेको छ ।
फोन पेसँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपीआई इनएबेल एप्सको प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वकमा आबद्ध माछापुच्छ्रे बैंकका मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्युआर भुक्तानीमार्फत सहजरूपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।
साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्ने हेतु नेपाल क्लियरिङ हाउससँग पार्टीसिपेटिङ तथा सेटलमेन्ट बैंक साझेदारी समेत गरेको हो । यस सम्झौताअनुरुप उक्त सेवा लाइभ गएपश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि युपीआई ह्यान्डल–लिङ्क गरिएको खाताबाट भारतमा सिधै पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकेबमोजिम दैनिकरूपमा १५ हजार भारतीय रुपैयाँ र मासिक एक लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपीआई इनएबेल एप्स प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपीआई ह्यान्डल–लिङ्क गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रतिकारोबार भारु दुई लाखसम्म र खाता नभएको खण्डमा एक वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकारोबार भारु पचास हजार पठाउन सक्नेछन् ।
बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थिक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।