काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटीसी मोटर्स)को नेपालका लागि आधिकारिक विक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरूले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरू वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलको अन्त्यतिर यी उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुनेछन । छ वर्ष वा तीन लाख किलोमिटरको वारेन्टी, ४१ दशमलव ८६ किलोवाट क्षमताको ब्याट्री, दुई सय ८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एमएम ग्राउन्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरू रहेका छन् ।
कम्पनीका अनुसार यी भ्यानहरूमा तीन सय ६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ, जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरूमा पाइँदैन । त्यस्तै, विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।