लन्डन, जेठ २७
तेल कम्पनी बीपीले १० हजार रोजगारी कटौतीको घोषणा गरेको छ । विश्व महामारी कोरोनाभाइरसका कारण मागमा अत्यधिक कमी आएपछि कम्पनीले रोजगारी घटाउने घोषणा गरेको हो । कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्ममा १५ प्रतिशत कर्मचारी घट्नेछन् । कम्पनीले बेलायतमा कति कर्मचारी हटाउने भनिसकेको छैन । यद्यपि करिब २ हजारको रोजगारी खोसिनसक्नेछ । कम्पनीका प्रमुख कार्यकारी बर्नाड लुनेले तेलको मूल्य घट्नुलाई रोजगारी कटौतीको प्रमुख कारण रहेको दाबी गरेका छन् । कर्मचारीलाई उनले इमेलमार्फत सन्देश पठाउँदै कम्पनीले नाफा कमाउने अवस्थाभन्दा तेलको मूल्य कम रहेको बताएका छन् ।
उनका अनुसार आम्दानीभन्दा खर्च सोचेभन्दा बढी भइरहेको छ । महामारी फैलिएसँगै विश्वभर मानिसहरु घरमै बस्नुपरेको छ । जसले गर्दा विश्व बजारमै तेलको माग शून्यप्रायः छ । त्यसले तेलको मूल्य २० डलर प्रतिब्यारेलसम्म पुगेको छ । यो वर्षको सुरुमा उक्त परिमाणको तेलको मूल्य ६६ डलर थियो । हाल तेलको मूल्य सुधार भएर ४२ डलर प्रतिब्यारेल हाराहारीमा पुगेको छ । बीपीले बेलायतमा मात्रै १५ हजार जनालाई रोजगारी दिएको छ ।