काठमाडौं । सरकारले दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माण कार्य छिटो थाल्नका लागि आवश्यक छलफल थालेको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति समेत भएको छ ।
छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो । छलफलमा अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरे, ऊर्जासचिव सुशीलचन्द्र तिवारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस (भर्चुअलरूपमा) तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस सहभागी थिए । सो छलफलमा आयोजनाको वित्तीय व्यवस्थापन र आयोजना कार्यान्वयनको क्षमता अभिवृद्धबारे विस्तृतमा छलफल भएको थियो । साथै दुवै आयोजनाको पूर्वतयारीका लागि सम्पन्न गरिएका कामबारे प्रस्तुति गरिएको थियो ।
बैठकमा अर्थमन्त्री पुनले माथिल्लो अरुण र दूधकोशीजस्ता ठूला आयोजनाको निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताए । यस्तै, उनले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा जोड दिए । मन्त्री पुनले दुई ठूला आयोजनाको निर्माणपछि नेपालको अरू ठूला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे । यस्तै, उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सम्झौता गरेको तथा बंगलादेशलाई ४० मेगावाट विद्युत् दिन लागिएको भन्दै आन्तरिक मात्र नभई क्षेत्रीय बजारमा समेत नेपालको विद्युत्को माग रहेको उल्लेख गरे । क्षेत्रीय बजारमा थप माग बढ्ने सम्भावना रहेकाले आगामी दिनमा स्वच्छ ऊर्जा उत्पादनका लागि थप लगानी चाहिएको उनले बताए । मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीको वातावरण राम्रो रहेकाले लगानी वृद्धि गर्न विश्व बैंक, एसियाली विकास बैंकसहित विकास साझेदारहरूलाई अपिल गरे ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले नेपालको जलविद्युत्मा लगानी गर्न विकास साझेदारहरूलाई आग्रह गरे । २९ हजार मेगावाट क्षमताको सम्भाव्यता अध्ययन सकिएको भन्दै उनले पाइपलाइनमा रहेका आयोजनामा लगानी गर्नेबारे धारणा बनाउन विश्व बैंक र एसियाली विकास बैंकलाई आग्रह गरे । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुणको विश्व बैंक र खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुवाघाटबाट निर्माण हुने छ सय ३५ मेगावाटको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजनाको एसियाली विकास बैंक नेतृत्वको निर्माण हुनेछ ।
विश्व बैंक र एसियाली विकास बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी (इक्वीटी)बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । आयोजना प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरुबाटै आयोजना निर्माण थालिने जनाएको छ । आयोजना निर्माणका लागि अनुमानित पाँच वर्षको समयसीमा तोकिएको छ । माथिल्लो अरुणको पूर्वतयारी स्वरूप दुई किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको बताइएको छ । सो आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् छ किलोमिटर चार सय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
रभुवाघाटमा निर्माण हुने छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ डिजाइन, वातावरणीय प्रभाव अध्ययन मूल्यांकनलगायतका काम यसअघि नै सकिएका छन् । पहुँच मार्ग निर्माण र मुआब्जा वितरणको काम अन्तिम चरणमा छ । दुवै आयोजनाको अनुमानित लागतबारे प्राविधिक तहमा छलफल गर्ने बताइएको छ ।