२०८१ सालको नयाँ वर्ष सुरुवातसँगै आर्थिक दैनिक १४ वर्ष पूरा गरेर १५ वर्षमा प्रवेश गरेको छ । बितेको १४ वर्षमा हामीले नियमितरुपमा आर्थिक दैनिक प्रकाशित गर्दै १५ वर्षको सुरुको दिन चार हजार सात सय ४३औँ अंक लिएर तपाईँहरुको माझ आएका छौँ । विगत १४ वर्ष हाम्रा लागि जति कष्टकर थिए, सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको छलाङको कारण समग्र छापा पत्रकारिता नै कष्टकर यात्रामा रहेको कारण हाम्रो यात्रा पनि आगामी दिनमा झनै कष्टकर हुनेछन् भन्ने हामीलाई थाहा छ । कष्टकर भए पनि पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको माया र हौसला हामीले पाइरहेका छौँ । आम नागरिकको त्यही बलले नै हामीलाई हाम्रो यात्रा अगाडि बढाउन थप प्रोत्साहन मिल्नेछ र हाम्रो यात्रा अनन्तकालसम्म निरन्तर हुने प्रतिज्ञा आर्थिक दैनिकको १५ वर्ष प्रवेशको वर्ष र नेपालीको नयाँ वर्ष २०८१ सँगै गर्दछौँ ।
आर्थिक दैनिक प्रकाशनका सुरुका वर्षहरुमा नेपालको मात्र होइन विश्वको अर्थतन्त्र जति सहज थियो अहिलेसम्म आइपुग्दा झन्भन्दा झन् जटिल बन्दै गरेको अनुभूत हामीले गरेका छौँ । विश्वका सबैजसो मुलुक आर्थिक मन्दीको मारमा परेका छन् । विश्वमा वस्तु तथा सेवाको मूल्य वृद्धि भएको छ भने रोजगारीको अभाव छ । अझ नेपालजस्ता आयातित वस्तुबाट राजस्व संकलन गरेर खर्च व्यवस्थापन गर्ने देशहरुको अवस्था त कहालीलाग्दो हुँदै गएको छ । देशको अर्थतन्त्र कमजोर बन्दै जाँदा समग्र आर्थिक गतिविधिमा सुस्तता आएको छ । यो सुस्तताले सबै पेसा तथा व्यवसायमा नकारात्मक प्रभाव पार्ने पारेको छ । यसको प्रभाव कहिले हट्ने अझै निश्चित छैन । तर, त्यसको प्रभाव सञ्चार माध्यमहरुमा परेको अनुभव हामीले दैनिकरुपमा गरिरहेका छौँ ।
हाम्रो यात्रामा जतिसुकै बाधा, अवरोध र काँडेतारको गुजुल्टो देखा परे पनि त्यसलाई पन्छाउँदै अगाडि बढ्ने प्रण गर्दछौँ । हामी असत्यसँग झुक्नेछैनौँ र सत्यसँग खेलबाड गर्ने पनि छैनौंँ । देशको समग्र आर्थिक विकासका लागि विगतदेखि जसरी सत्यको पक्षमा निरन्तर जुधिरहेका छौँ अझ खरो ढंगले जुधेर अगाडि बढ्ने प्रण गर्दछौँ । विकृति र विसङ्गति हाम्रा मुख्य शत्रु हुन त्यसलाई पराजित गर्ने हाम्रो यात्रा जारी रहनेछ ।