दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै ठूलो जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ग्रामीण भेगका पाँच हजारभन्दा बढी सदस्यलाई वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको छ ।
संस्थाले आफ्नो ग्रामीण भेगका कुनाकाप्चाका सहकारीलाई बुझ्न् नसकेका ९२ वटा टोलमा पुगेर वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको हो । संस्थाले सञ्चालन गरेको वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविरमा पाँच हजार आठ सय ९० जना सेयर सदस्यहरू लाभान्वित भएको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार संस्थाले १७ वटा सेवा केन्द्रबाट सो शिविर सञ्चालन गरेको थियो । सहकारी शिक्षाअन्तर्गत सहकारीको आर्थिक गतिविधि, ऋण कारोबार, सञ्चालकको दायित्व, असल ऋणी बन्न सदस्यले देखाउने इमानदारिता, सहकारीमा सुशासन, कोष विभाजन तथा प्रयोजन, पुँजी परिचालन लगायतका विषयमा सेयरधनीलाई जानकारी प्रदान गरिएको थियो ।