काठमाडौं । तनहुँस्थित आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी गत आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको हो ।
मोटरबोटको गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए । ऐना पहरा, छिम्केश्वरी, होमस्टेलगायतका विभिन्न गन्तव्यको प्रवद्र्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागि परेको आबुँखैरेनीले दुई वर्षको पहलपछि मोटरबोट सञ्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । बोटेबोरा प्रालिका अध्यक्ष विष्णु ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । उनका अनुसार मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ ।
मोटरबोटमा सयर गर्न छदेखि आठ मिनेटसम्म प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि पाँच सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । साथै, थप लगानी गरी जलाशय किनारमा ‘बीच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना रहेको उनले बताए । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुल तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने जनाएको छ ।