काठमाडौं, जेठ २८
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा रकम घरबाट नै भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले ग्राहकहरूको व्यस्ततालाई ध्यानमा राख्दै र अहिले देशभर कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिले गर्दा नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दीका कारण सबैजना घरैमा बस्नुपरेको अहिलेको परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिति र समयको आवश्यकता समेतले अनलाइनमार्फत बीमालेख प्रस्ताव दाखिला गर्ने सफटवेयर प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो सुविधाअन्तर्गत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइनमार्फत लिन सकिनेछ । यसै क्रममा अनलाइनमार्फत बीमा पोलिसी खरिद गर्ने ग्राहकहरूलाई कम्पनीले धन्यवाद समेत प्रदान गरेको छ ।
बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाइट वा मोबाइलमार्फत लगइन गरी एजेन्ट पोर्टलअन्तर्गत गएर ग्राहकहरूको लागि इच्छाएको बीमा योजना अभिकर्तामार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहक तथा अभिकर्ताहरूलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने कम्पनीको डिजिटल सिटिजन अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ ।
साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी हालै लकडाउनको परिस्थितिमा समेत घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई–सेवा फोन–पे, कनेक्ट आईपीएस बैंकिङ सुविधा उपलब्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोवार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ । हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ३९ लाख २३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड १४ लाख ३४ हजार रूपैयाँ रहेको थियो ।