काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले एक कार्यक्रमको लागि चन्दास्वरुप पैसा उपलब्ध गराउन निर्देशानुसार अनुरोध छ भन्दै बीमा कम्पनीहरुलाई पत्र काटेको छ ।
प्राधिकरणले इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा नेपालको हवाई बीमा प्रवद्र्धनका लागि गर्न लागेको एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकोले सो सम्मेलनलाई सफल बनाउँन निर्जीवन बीमा कम्पनीहरुलाई प्रतिकम्पनी एक एक लाख र पुनर्बीमा कम्पनीले पाँच पाँच लाखका दरले सहयोगस्वरुप चन्दा दिन निर्देशन दिएको हो ।
बीमा कम्पनीहरुको नियामकीय निकाय बीमा प्राधिकरण संरक्षण गर्नुपर्ने बीमा कम्पनीहरुलाई नै चन्दा र सहयोगको नाममा निर्देशन दिने र भनेको नमाने बीमा कम्पनीहरुले लिनुपर्ने कतिपय सैद्धान्तिक स्वीकृतिहरुमा अप्ठ्यारो पारेर असहयोग गर्ने नीति बीमा ऐन नियमविपरीत भएको बीमा कम्पनीहरुले बताएका छन् । बीमा कम्पनीहरुका अनुसार चन्दा आतंक हालका बीमा प्राधिकरणका अध्यक्षमा एमाले निकट मानिने सूर्यप्रसाद सिलवाल आएपछि बढेको हो ।
बीमा कम्पनीहरुका अनुसार प्राधिकरणले चन्दा दिन निर्देशन दिने यस किसिमको पत्र पटक पटक पठाउने गरेको छ ।
प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुमा पठाएको पत्रमा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा नेपालको परिपेक्षमा हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापन विषयमा देखिएका समस्या तथा वर्तमान चुनौतीहरु र भविष्यका सम्भावनाहरुका बारेमा सम्बन्धित सरोकारवालहरुसँग अन्तक्रिया र छलफल गर्ने तथा उक्त कार्यक्रममा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वित्तीय क्षेत्रका नियमनकारी निकायहरुलगायत वायुसेवा सञ्चालक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुनर्बीमक÷अडरराइटर, क्षति मूल्याङकनकर्ता, निर्जीवन बीमा कम्पनी, बीमा दलाल अन्य बीमा तथा उडड्यन क्षेत्रका प्रमुख सरोकारवाला समेतको सहभागीता हुन लागेकोले उक्त कार्यक्रम सफलताको साथ सञ्चालनको लागि नेपालका निर्जीवन बीमा कम्पनीहरुबाट प्रति कम्पनी एक लाख रुपैया र पुनर्बीमा कम्पनीहरुबाट प्रतिकम्पनी पाँच लाख रुपैया सहयोग गर्न निर्देशन गरिन्छ भनिएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ३७ वटा बीमा कम्पनीको दुई हजार नौ सय ३२ शाखासहित करिब १२ हजार कर्मचारीहरु कार्यरत छन् । जसमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुईवटा पुनर्बीमा कम्पनी, सातवटा लघुबीमा कम्पनीहरु छन् ।