काठमाडौं । एनएमबी बैंकको ११औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न भएको छ । बैंकले बुधवार आफ्नो बल्खु शाखाबाट शुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरिएको हो ।
एनएमबी बैंकले ‘हाम्रा सम्पदा हुन् खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रबर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा, एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केस., कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरु, बैंकका कर्मचारीलगायत सर्वसाधारणहरु गरी लगभग सात सय ५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको उपस्थिति थियो। उक्त कार्यक्रममा एनएमबी बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख रुपैयाँको सहयोगका साथै कीर्तिपुर महानगरपालिकालाई डस्टविनहरुसमेत हस्तान्तरण गरिएको थियो ।
बैंकले प्रदेश नं. १ मा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेस प्रदेशमा जनकपुर शाखादेखि राममन्दिर, चितवनमा भरतपुर शाखादेखि गणेशधाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोलपार्कदेखि सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदेश सुर्खेत शाखादेखि काँक्रेबिहार मन्दिरसम्म, र सुदूरपश्चिम प्रदेशमा महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म एकै साथ ११औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एक वटा शाखाहरु, एक सय ८६ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।