ढोरपाटन (बागलुङ) । बागलुङमा शुक्रबार बिहान घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर मृत्यु भएको हो ।
बाख्रालाई घाँस काट्नका लागि बिहान ८ बजे घर नजिकैको जङ्गलमा गएका सुनार रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए । आफन्त र छिमेकी मिलेर घाइते सुनारलाई उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै उनको मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले बताए ।
समाजसेवीसमेत रहेका मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको पौडेलले सुनाए ।