काठमाडौं, जेठ २८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाचौँ विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको सभापतित्वमा मंगलबार बैंकको केन्द्रीय कार्यालय भवन नारायणहिटी पथ, काठमाडौँमा सम्पन्न गरेको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन नगरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत बैंकले पाचांँ विशेष साधारणसभा सम्पन्न गरेको हो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गर्नुभएको विशेष प्रस्ताव पारित भएको हो । सभाले सहयोगी विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन गरेको छ । सहयोगी विकास बैंक लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१ दशमलव ७५ कित्ता सेयर (१ः०.९१७५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
यसैबीच, जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडको यही जेठ २४ गते शनिबारका दिन सम्पन्न विशेष साधारणसभाले समेत सहयोगी विकास बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकको विशेष÷वार्षिक साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडलाई सहयोगी विकास बैंक लिमिटेडप्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आर्थिक वर्षभित्रमा सहयोगीलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्नेगरी तयारीहरू भइरहेको सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडका अध्यक्ष भण्डारीले जानकारी दिए ।
विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरस (कोभिड १९)को महामारीबाट आक्रान्त बनेको अवस्थामा डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागि सेयरधनीहरूलाई बैंक सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले आभार प्रकट गरे । यसका साथसाथै प्राप्तिपश्चात् बैंकको आन्तरिक वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे ।
२०७७ जेठ २६ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय आठ हुनेछ । हाल सिटिजन्सको चुक्ता पुँजी आठ अर्ब ६२ करोड रूपैयाँ रहेकोमा प्राप्ति पछिकोचुक्ता पुँजी ९ अर्ब ८ करोड रूपैयाँ हुनेछ । धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको थियो । यी पाँच जिल्लामा हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नौ वटा शाखाहरू सञ्चालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू सञ्चालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा सात लाखका दरले ४९ लाख तथा विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब छ लाख गरी हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ ।
विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरस (कोभिड १९)को महामारीबाट आक्रान्त बनेको अवस्थायस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरूको वित्तीय आवश्यकताहरू चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हरसम्भव प्रयास गरिरहेको छ । नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दे बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरूको सुविधाका लागि अत्यावश्यक सेवाहरू जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरूमध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ ।
कोरोना भाइरस (कोभिड १९) महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।