बागमती । मकवानपुरमा पछिल्लो नौ महिनाको अवधिमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेको जानकारी दिए ।
तीमध्ये हेटौंडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जनाएको छ ।
गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ । गत आर्थिक वर्ष २०७९÷८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु सङ्क्रमित भएका थिए ।