काठमाडौं, जेठ २९
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७ सय ६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८ सय ३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार ३ सय ४६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार ७ सय १५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार १ सय ५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५२ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ५ सय ७३ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार २ सय ८ को मृत्यु भएको छ । एसियामा १४ लाख ३२ हजार ३ सय २७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३६ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ५ हजार ८ सय ८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ५ सय ६८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २४ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)