वासिड.टन, जेठ २९
अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक भएका छन् । सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए ।
प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाइमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो । ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए । उनी स्वयं लडाकु विमानका पाइलट रहनुका साथै उनले दुई हजार नौ सय घण्टा सैनिक विमान उडाएका छन् ।
ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए । उनले वायुसेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन् । उनले एफ–१६ लडाकु विमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए । सन् २०१९ को जनगणनाअनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् ।