काठमाडौं । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज मिति २०८१ वैशाख १३ गतेबाट व्यावसायिक कारोबार सञ्चालनमा आएको छ । धितोपत्र दलालको रूपमा ग्राहकहरूलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्बद्ध सेवाहरू प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्ता पुँजीसाठ्ठी करोड रहेको छ ।
पूर्ण कार्य गर्ने धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट विसं २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले विसं २०८० माघ ३ मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो । ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरूलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन कारोबार तथा अन्य पुँजीबजारसम्बन्धी सेवाहरू प्रदान गर्नेछ ।
वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्धिक व्यक्तित्वहरूको सञ्चालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ । कम्पनीले हाल सीटीसी मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।