काठमाडौँ । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताएका छन् ।
प्रधानमन्त्री दाहालले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न सबै पक्ष लाग्नुपर्ने बताए । श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराइने विश्वास दिलाए ।
“युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ,” प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले संविधानमा व्यवस्था भएको समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आधार सामाजिक न्याय भएको बताए । उनले सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको उल्लेख गरे । लाखौँ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको परिप्रेक्ष्यमा विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकलाई यस कार्यक्रममा समावेश गर्ने प्रक्रिया अगाडि बढिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको उल्लेख गर्दै उनले यस कार्यक्रमको कार्यान्वयनमा देखिएका आंशिक चुनौती सामूहिक प्रयासबाट सम्बोधन हुने बताए ।