काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको वैशाख बिहीबार सम्पन्न सञ्चालक समितिको ४८औँ बैठकले प्राडा ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । प्राडा गौतमसँग एसियन इन्स्टिच्यिुट अफ टेक्नोलोजी थाइल्याडका प्राध्यापक, विरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको केस अध्ययन केन्द्रको बोर्ड सदस्य, डोङ ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिस्चियन विश्वविद्यालयको रिसर्च एसोसिएट्स भई कार्य गरेको अनुभव रहेको छ ।
सीए मन्दिप वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएस समेत गरेका छन् । विशेषगरी एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरूका लागि ऋण तथा सेयर पुँजी परिचालन गरेको अनुभव भएका सीए वशिष्ठसँग स्वीस राजदूतावास तथा युएसआईडीको एसएमईज ग्रोथ एन्ड फाइनान्सिङको विशेषज्ञको रूपमा सफल कार्य गरेको अनुभव रहेको छ ।
नवनियुक्त स्वतन्त्र सञ्चालकद्वय प्राडा ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष श्री प्रकाश बरालले पद तथा गोपनीयताको सपथ गराए । स्वतन्त्र सञ्चालकद्वय प्राडा ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठकोे लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनीहरूले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्ने छन् भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।