काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिकरूपमा सुचारु भएको छ । विमानस्थलको आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटाभन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यो नेटवर्क सेवा सरल, सुरक्षित र सजिलो प्रविधिमा आधारित छ । यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित संस्थाको कर्मचारीहरूका लागि तयार पारिएको हो ।
यो विश्वविद्यालयका वैज्ञानिक अनुसन्धानसम्बन्धी संस्था, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको जनाइएको छ । विश्वभर लाखौं एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन्।