नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको बिहीबार उद्घाटन गर्दै कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् ।
गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको औँल्याए ।
अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए ।
गृहमन्त्री लामिछानेले पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिंदै कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गरे । कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको गृहमन्त्री लामिछानेले उल्लेख गरे ।
लुम्बिनी प्रदेश सरकारका समाजिक विकासमन्त्री रत्न खत्री, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाललगायतले कारागार सुधारका विषयमा आफ्नो धारणा राखेका थिए । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले प्रदेशमा लागेको डढेलो नियन्त्रण गर्न कदम चाल्न सङ्घीय गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।