काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरूका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यो खाताको माध्यमबाट विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई नेपाली पुँजीबजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यका लागि सहजीकरण गर्ने कम्पनीको विश्वास रहेको छ । यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेसाबाट धेरथोर रकम जम्मा गरी नेपालको पुँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर सन सेक्युरिटिजले यो सेवाको सुरुवात गरेको हो ।
सनको ‘मिसन २०८४, एक नेपाली एक ब्रोकर खाता’को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरूका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेसामा आबद्ध नेपालीहरूले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइटबाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरू संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीहरू समक्ष भिडियोमा उपस्थित भई भिडियो केवाईसी भेरिफाइ गर्न सक्ने वा स्वयंले भिडियो केवाईसीमा दिइएको निर्देशनहरूको पालना गरी भिडियो केवाईसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकहरूका लागि बैंक वित्तीय संस्थासँगको सहकार्यमा बैंक खाता, सीआस्वा रजिस्ट्रेसन तथा कनेक्ट आईपीस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरूले एकद्वारबाटै पुँजीबजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
यो रेमिट डिम्याट खाताको माध्यमबाट परदेशमा रहेर नेपालको पुँजीबजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा उनीहरूको आर्थिक आत्मनिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनी गरेको छ ।