काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।
प्रधानमन्त्रीले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताका हितमा राम्रा काम मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा काम मात्रै गर्न निर्देशित गर्दछु”, प्रधानमन्त्रीले भने, “यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी धेरै साहसिक र जनपक्षीय कामहरू भएका छन् ।”
उनले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताउँदै सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फउन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ ।”
उनले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए । सरकारले चालेको सुशासनका कार्यबारे प्रधानमन्त्री दाहालले भने, “नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ ।”
प्रधानमन्त्रीले राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम भएको बताए । उनले मिटरब्याजपीडितका पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गरे ।
उनले किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्याइएको, विपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार नौ सय निःशुल्क श्यया तथा गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए ।