विराटनगर, जेठ ३०
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले उद्योगमैत्री बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ र महासंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा आगामी आ.व. २०७७/७८ का लागि १ नं. प्रदेश सरकारबाट प्रस्तुत हुने बजेटका सन्दर्भमा भएको प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम महासंघले उक्त आग्रह गरेको हो ।
उद्योगी तथा व्यवसायीको तर्फबाट कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण २०७६ चैत ११ गते देखि लकडाउनको अवस्थामा प्रदेश १ को उद्योग तथा व्यापार धराशायी भएको भन्दै अहिलेसम्म चलेको लकडाउनबाट उद्योग व्यापारलाई सहजीकरण हुनेतर्फ आगामी बजेट ल्याउन आग्रह गरेका थिए । प्रदेश सरकारले पनि आगामी आ.व. २०७७/७८ को बजेटले आफ्नो नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिसकेको सन्दर्भमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग तथा व्यवसायलाई राहत हुने बजेट आउनेमा विश्वस्त रहेको जानकारी गराएका थिए ।
उद्योगी तथा व्यवसायी राजेन्द्र राउतले लामो अवधिको लकडाउन तथा विश्वव्यापी आर्थिक मन्दीका कारण संकटमा रहेका कृषि तथा गैरकृषि उद्योगधन्दा, कलकारखानाहरुको पूर्ववत् अवस्थामा फर्काउनका साथै आगामी दिनमा उत्पादन र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिने विषयमा आगामी बजेटबाट सम्बोधन गरिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
राउतले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले विगतमा गरेको प्रदेश नं. १ का १४ वटै जिल्ला समेटेर सरोकारवालाहरुको सहभागिता र सुझावमा कृषि क्षेत्र उपक्षेत्रहरुमा लगानीका अवसरहरुसम्बन्धी गरिएको अध्ययनबाट प्राप्त नतिजा, निष्कर्ष एवम् लगानीका सम्भावित क्षेत्रहरुमा लगानी प्रोत्साहन गर्ने, निजी क्षेत्रका लगानीकर्ताहरुलाई सहजीकरण गर्ने तथा सार्वजनिक नीजि सहकारी साझेदारीका अवधारणामा आर्थिक वृद्धि लक्षित क्षेत्रहरुलाई नीतिगत, व्यावहारिक एवम् आर्थिक सहकार्यका प्याकेजहरुमार्फत अघि बढाउनेतर्फ प्रदेश सरकारले पनि बजेटमार्फत सम्बोधन गर्न आवश्यक रहेको बताएका थिए ।
उद्योग वाणिज्य महासंघ र प्रदेश नं. १ सरकारबीच भएको समझदारीबमोजिम चालू आ.व.मा विनियोजन भएको रकम कानुनहरुको कमीमा कार्यान्वयन हुन नसकेको साथै प्रदेशमा कृषि उद्यम केन्द्र स्थापना भइसकेको सन्दर्भमा आगामी आ.व. उद्देश्य सम्बोधन हुने गरी बजेटमार्फत निरन्तरता दिनु उपयुक्त हुने धारणा उद्योगी तथा व्यवसायीले राखेका थिए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रमा राहत प्याकेजदेखि लिएर, कृषि, पशुपालन, कृषिको भण्डारण, एक जिल्ला एक उत्पादन, मेरो कृषि मेरो पौरख, विराटनगर विमानस्थलको स्तारोन्नति, विशेष आर्थिक क्षेत्रजस्ता विषयलगायत निजी क्षेत्रको लगानी भित्र्याउने योजनासमेत अगाडि बढाउन मांग गर्दै यथेष्ट बजेटको व्यवस्था गरी समयमै कार्यान्वयन हुने क्रियाकलापका लागि प्रदेश सरकारले तत्परता देखाउनुपर्ने राय सुझाव उद्योगी तथा व्यवसायीले दिएका थिए ।
छलफलमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधान, चन्द्रप्रसाद ढकाल, केन्द्रीय सदस्य अविनास बोहरा, प्रदेश नं. १ का सबै उद्योग वाणिज्य संघका अध्यक्षहरु, विभिन्न वस्तुगत संघका अध्यक्षहरु, लगानीकर्ता उद्योगपति एवं व्यवसायीहरुले जुम मिटिङमार्फत आ–आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले आ.व. २०७७/०७८ को प्रादेशिक बजेटका लागि तयार गरेको राय सुझावहरु वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले प्रस्तुत गरेका थिए ।