काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) ओरालो लाग्ने क्रम सोमबार पनि जारी रहयो । कारोबार हुने साताको दोस्रो दिन पनि शेयर बजार राताम्य बनेको हो ।
अघिल्लो दिन पनि नकारात्मक रहेको बजार सोमबार पनि १५ दशमलव ६२ अंकले आरोलो लागेको छ । सोमबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९५८ दशमलव ७५ विन्दुमा पुगेको छ । सोमबार कारोबार भएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार विकास बैंक बाहेक अरू सबै समूहको शेयर मूल्यमा गिरावट आयो । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन बोटलर्स नेपाल तराईको शेयर ९ प्रतिशतले बढेको छ ।
सोमबार नेप्सेमा ३१० कम्पनीका ६९ लाख ७८ हजार ३१२ कित्ता शेयर ४८ हजार ७०९ पटक खरिद बिक्री हुँदा दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३८ अंकले घटेर ३४७ दशमलव ८० विन्दुमा पुगेको छ ।