नयाँ दिल्ली, जेठ ३०
भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को परीक्षण सेवा हाल दैनिक दुई लाख व्यक्तिलाई दिनसक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले बिहीबार जानकारी गराएको छ । आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले भारतमा अझै समुदायमा संक्रमणको महामारी नरहेको पत्रकार सम्मेलनमा दाबी गरे । उनले भने, ‘भारतीय समुदायमा कोभिड–१९ को संक्रमण महामारीको अवस्थामा रहेको छैन । भारतमा हालको दैनिक करिब डेढ लाख संक्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिन्छ । आवश्यकता अनुसार यसलाई बढाउन सकिनेछ ।’
भारतको ग्रामीण क्षेत्रको तुलनामा सहर करिब एक प्रतिशत मात्र रहेको र संक्रमण सहरी क्षेत्रमा जस्तो अवस्थामा गाउँमा नरहेको उनको दाबी छ । भारत यति ठूलो मुलुक हो, जहाँ कोरोनाभाइरसको संक्रमण निकै कम (एक प्रतिशतभन्दा कम) जनसङ्ख्या मा रहेको छ । यद्यपि राज्यले परीक्षण, सम्भावित विरामीको खोजीका साथै संक्रमणलाई समुदायमा फैलिन नदिन क्वारेन्टिन र लक्षणका आधारमा विरामीलाई परिवार र समुदायका सदस्यबाट अलग पारी नियन्त्रण प्रयासलाई निरन्तरता दिनुपर्छ । भारतमा केही दिन पहिलेसम्ममा नै ५० लाखभन्दा बढी व्यक्तिको संक्रमण परीक्षण भइसकेको महानिर्देशक भार्गवले बताए ।