चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पतालको बुधबार उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् ।
ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोडदिनुपर्ने बताए । ओलीले भने, “सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।” तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको पनि बताए ।
देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको बुधबार उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको अध्यक्ष ओलीको भनाइ थियो ।
ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए । कपिलबस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।