सुबास बस्नेत
दोलखा, जेठ ३०
सरकारले कोरोना भाइरस संक्रमणको बहाना बनाएर यो वर्ष पनि देशभरका किसानलाई मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ । देश लकडाउनमा परेको बिहीबार ८० दिन पूरा भएको छ । लकडाउनको कारण जिल्लाका अधिकांश कृषि क्षेत्रका किसान थप प्रभावित बनेका छन् । जेठ पहिलो सातादेखि नै पानी परेकोले धान रोपाइँको बेला भएको छ । समयमा नै वर्षा भए पनि मलको अभावका कारण रोपाइँ गरिहाल्ने कि नगर्ने भन्ने अन्योलमा कृषक परेका छन् ।
जिल्लाको वैतेश्वर गाउँपालिकाका किसान ढालबहादुर बस्नेत भन्छन्, ‘आगामी सातादेखि धानबालीको रोपाइँ सुरु हुँदै छ । धानमा लगाउने मलको अभाव छ । जिल्ला मल पाइँदैन खेती गरी हाल्ने कि पछि गर्ने अन्योलमा परेको छु ।’ किसानहरू कुनै न कुनै बहानामा युरिया मलका लागि वर्षेनी सास्ती व्यहोर्न बाध्य हुँदै आएका छन् । सधैं मलको चरम अभाव खेप्दै आएका किसानलाई यस वर्ष झनै कोरोनाको भाइरस र लामो समयको लकडाउनले थप प्रभावित बनाएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ । कृषि सामग्री र साल्टले कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण समयमा युरिया मल आपूर्ति नहुँदा किसानले युरिया मलका लागि सास्ती व्यहोर्नुपर्ने बताएको छ ।
यता जिल्लाका केही मुख्य बजार आसपासका किसानले सामान्यरूपमा मल पाए पनि दुर्गम गाउँका किसानले भने धान, मकै, बालीमा लगाउने युरिया, डीएपी पोटासलगायतको मल पाउन गाह्रो भएको गुनासो गर्दै आएका छन् । चरीकोटका व्यापारीले फागुन र चैत महिनामा लकडाउनले स्टोक रोकिएर बसेको मलले मकै बालिलाई लगाउन पुगे पनि धानबालीमा लगाउनको लागि भने मलको अभाव हुने बताए ।
जिल्लाको भीमेश्वर नगरपालिका, कालिन्चोक, वैतेश्वर, तामाकोशी, मेलुङलगायतका ठाउँ प्रमुख खेतीको रूपमा धानबालीको खेती हुँदै आएको छ । समयमै परेको पानीले असार पहिलो सातबाटै धान रोपाइँ सुरु गर्ने सोचमा रहेका शैलुङ फष्कु दोलखाका किसान हरि खड्का मल अभावका कारण रोपाइँ पछि सर्ने बताउँछन् । तोकिएको समयमा मल नआउँदा जिल्लामा मलको अभाव बढेको हो ।