काठमाडौं,नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले पदको दुरुपयोग गरी पारिवारिक दादागिरि देखाएर आयोजना कब्जा गरेर चिनियाँ ठेकेदारको २८ करोड रुपैयाँ खान खोजेको एउटा घटना नेपाल प्रहरीको छानवीनको दायराभित्र तानिएको छ । झण्डै चार अर्ब रुपैयाँको त्रिशुली चिलिमे खण्डको सबस्टेसन तथा प्रसारण लाइन निर्माणको ठेक्कामा घिसिङले गरेको पारिवारिक दादागिरीको विवाद नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेको हो । उक्त विवादमा गत सोमबार सीआईवीले घिसिङका कान्छो ससुरा एवं राप्रपाका बागमती प्रदेशसभाका सांसद डम्बर तामाङलाई तेस्रो पटक बयानका लागि बोलाएको थियो तर उनी अस्वस्थताको कारण देखाएर अनुपस्थित भएको स्रोतले जानकारी दिएको छ । प्रदेश सांसद डम्बर राप्रपाका नेता एवं संघीय सांसद बुद्धिमान तामाङका सहोदर भाइ हुन् ।
नेपाल विद्युत् प्राधिकारणको उक्त ठेक्का चिनियाँ कम्पनी पीङ्गाओले पाएको थियो र नेपाली एजेन्ट सन्त गुरुङसहितको चार जनाको टोली रहेको थियो । गत चैतमै सम्पन भइसक्नुपर्ने उक्त काम अझै सम्पन्न हुन सकेको छैन । चिनियाँ पक्षले गरेको उक्त काम राम्रोसँग बेलैमा नगरेको भनी एकाध वर्षअघि कुलमानले गाली गरेको भिडियो भाइरल भएका थियो र त्यही भिडियो भाइरल भएको मातमा उनले गुरुङ पक्षको सबकन्ट्र्याकको काम खोसेर आफ्ना काकाससुरो तथा प्रदेश सांसद तामाङको प्रो. सोलुसन नामको कम्पनीलाई जिम्मा लगाएका थिए । नियोजित तथा पारिवारिकरूपमा कब्जा गरिएको उक्त सब कन्ट्र्याकको सम्झौतामा प्रो. सोलुसनको तर्फबाट उनका काकाससुरा प्रदेश सांसद तामाङले हस्ताक्षर गरेका छन् । उक्त कम्पनी प्रो. सोलुसनमा आठ जना सेयर होल्डर रहेका छन् र तीमध्ये सांसद तामाङको मात्र त्यसमा १२ प्रतिशत सेयर रहेको छ । उनलाई गिफ्ट सेयर दिएर संगठितरूपमा चलाउन स्थापना गरिएको उक्त कम्पनीलाई प्रबन्ध निर्देशक घिसिङले करोडौँ रुपैयाँ मोबिलाइजेसन फन्ड उपलब्ध गराएका थिए, त्योमध्ये चिनियाँ पक्षलाई २८ करोड रुपैयाँ नफर्काएको भनी सीआईबीमा उजुरी परेपछि कुलमानका काकाससुरा तामाङ छानबिनको दायरामा तानिएका हुन् ।
कुलमानको पारिवारिक समूहले धम्काएर काम लिएको र धम्काएर रकम हत्याएको तथा धम्काएरै रकम फिर्ता गर्न आलटाल गरेको पीडित पक्षको दाबी रहेको छ । बेलैमा उक्त सबस्टेसन तथा प्रसारण लाइनको काम सम्पन्न नहँदा रसुवागढी आयोजनाको उत्पादित एक सय ११ मेगावाटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाएको छैन र करोडौँ रुपैयाँको बिजुली खेर गइरहेको छ । कुलमानले कब्जा गरेर कान्छा ससुरा तामाङलाई सुम्पिएको उक्त प्रसारण लाइनको काम सन् २०१९ मै सकिनुपर्ने थियो तर आगामी गणतन्त्र दिवसमा काम सक्याउने भनी काम गरिएको छ । यसरी बेलैमा काम नसकिँदा ठेकेदार कम्पनीलाई हर्जना लगाउने परम्परा रहे पनि यसको हकमा त्यस्तो केही भएको छैन ।
त्यसैगरी निर्माण सामग्री पनि ठेक्का पाएकै कम्पनीले व्यवस्था गर्नुपर्ने हो तर यसको हकमा त्यस्तो हुनसकेको छैन । सबै निर्माण सामग्री कुलमानकै तजबीजमा पठाइएको छ र त्यसबापतको कमिसन र ओभर बिलिङको रकम पनि उनीहरूका लागि अतिरिक्त आम्दानी बनेको छ । २८ किलोमिटर लामो उक्त प्रसारण लाइनमा ७६ वटा टावर र दुईवटा सबस्टेसन बनाउन गरिएको टेन्डरमा चिनियाँ कम्पनी पिङ्गाओले ठेक्का पारेको थियो ।