म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए । ‘विसं २०७३ मा सुरु भएको निर्माणले अझै पूर्णता पाएको छैन,’ उनले भने, ‘पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ ।’ लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७२ मा तामाङ–गौरी–पार्वती–कोशी एन्ड न्यौपाने जेभीले २६ करोड रुपैयाँमा ठेक्का लिएको थियो ।
धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या हुँदै आएको स्थानीय बताउँछन् । चराङमा कुलो र ढलको काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी रहेको आयोजना प्रमुख धु्रवकुमार झाले जानकारी दिए । सडक छेउमा अलपत्र छाडिएका निर्माण सामग्रीले आवतजावत गर्न समस्या बनाएको स्थानीयले गुनासो गरेका छन् । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो ।
आयोजना प्रमुख झाले निर्माण कम्पनीलाई काममा फर्काउन पत्राचार र मौखिकरूपमा ताकेता गरिएको बताए । ‘ठेकेदारले मेसिन मर्मत गरेर केही दिनमै काम सुरु गर्ने प्रतिबद्धतासहित कार्यक्षेत्रमा आएको जानकारी गराएका छन्”, उनले भने, ‘चालू आर्थिक वर्षभित्र नै काम सम्पन्न गराउन ताकेता गरिरहेका छौँ ।’ मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३÷७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।