आशिषबहादुर सिंह
बझाड., जेठ ३०
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले मुलुकमा लकडाउन भएपछि बझाङ जिल्लामा पनि बजार क्षेत्रदेखि गाउँमा कालोबजारी बढ्दै गएको छ । लकडाउन भएपछि दैनिक उपभोग्य वस्तुु साथै अन्य मालसामानहरूको मूल्यदरमा एकाएक वृद्धि भएपछि उपभोक्तालाई समस्या परेको छ । स्थानीय व्यापारीहरूले लकडाउन मौका छोपी कृत्रिम अभाव देखाएर मालसामानहरूको मूल्यवृद्धि गरी कालोबजारी भैरहँदासमेत यसको रोकथाम नियन्त्रणका लागि भने सम्बन्धित निकायले चासो देखाएको छैन । बजारमा अहिले दैनिक उपभोग्य वस्तुुहरू दाल, चामल, तेलसहित अन्य सामानहरूको दोब्बरले मूल्य वृद्धि भैरहेको छ ।
लकडाउनअघि प्रतिकिलो चामलको ३४ रूपैयाँ पर्ने मोटो चामलको अहिले ४५ देखि ५० रूपैयाँ पर्ने गरेको जयपृथ्वी नगरपालिका १ का डम्बर सिंहले बताए । सहर बजारदेखि गाउँघरकासम्मका व्यापारी हरेक सामानहरूको मूल्य साबिकको भन्दा बढाएका छन् । व्यापारीहरूले दैनिक उपभोग्य सामानहरू तेल, तरकारी तथा साबुनको मूल्य दोब्बर बढाएको छन् । लकडाउनको यो अवधिमा मालसामानको अभाव हुन स्वाभाविकै भए पनि कृत्रिम अभाभ गरी कालोबजारी नगर्न सबै व्यापारीहरूलाई निर्देशन दिएको उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।
सुर्मेलीका अनुसार चैत्र ११ गतेबाट लकडाउन भएपछि व्यापारीहरूले पनि धनगढीबाट मालसामान ल्याउन पाएका छैनन् । पछिल्लो समयमा जिल्लामा खाद्यन्न अभाव भएपछि केही ठूला व्यापारीहरूलाई खाद्यन्न ढुवानीको लागी जिल्ला प्रशासनले गाडीको पास दिने व्यावस्था मिलाएको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । उद्योग वाणिज्य संघ, प्रहरी प्रशासनले दैनिक उपभोग्य वस्तुुहरूको कृत्रिम प्रभाव नगर्न र अनावश्यक मालसामानको मूल्य नबढाउन जानकारी गर्दै आएको भए पनि तर व्यापारीहरूले भने आफूखुसी लकडाउनको बेलाको फाइदा उठाउदै सबै चिज वस्तुुहरूको मूल्य बढाई रहेका स्थानीयहरूको गुनासो रहेको छ ।
चैनपुरको एक होलसेल तरकारी पसलका व्यापारी लोकेश ओलीले तरकारीलगायत अन्य खाद्य वस्तुुहरू धनगढीबाटै साबिकको भन्दा मूल्य वृद्धि भएर आएको कारणले केही सामानहरूको दरभाउ बढेको बताए । लकडाउनको यो अवधिमा जिल्लामा के–कति खाद्यन्न र तरकारी भित्रियो भन्ने आधिकारीक विवरण नभए पनि लकडाउनभन्दा अगाडि यो समयमा खाद्यन्न तथा तरकारी ढुवानी धेरै भएको जिल्ला प्रशासनले जनाएको छ ।