काठमाडौं, जेठ ३०
राष्ट्रिय सहकारी बैंक लिमिटेडमा प्रमुुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको पदावधि थप भएको छ । सीएसमेत रहेका प्रमुुख कार्यकारी गुरागाईंको कार्यकाल बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले आगामी चार वर्षका लागि थप गरेको हो । बैंकका अनुसार विसं २०७५ साल पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत गुरागाईंको समयावधि सकिन छ महिना पहिला नै बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताएका छन् । म्याद सकिनभन्दा छ महिना पहिला प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नुपर्ने बैंकको प्रावधन रहेको छ । त्यसभन्दा पहिला नायब महाप्रवन्धकका रूपमा गुरागाईंले काम गरेका थिए, अध्यक्ष उप्रेतीले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को समेत पूर्वप्रमुख कार्यकारी अधिकृत भइ काम गरेका गुरागाईंको सहकारी क्षेत्रमा लामो अनुभव रहेको छ । देशभरका सहकारीहरूको एक मात्र बैंकका रूपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि गुरागाईंको थप योगदान हुने ठहरका साथ आगामी चार वर्षका लागि म्याद थप गरिएको वैठकका सहभागीले बताएका छन्् । सञ्चालक समितिको निर्णय, सदस्य संघ संस्थाहरूको आवश्यकता र चाहनालाई मध्यनजर गरेर सहकारी क्षेत्रमार्फत देशको समग्र आर्थिक तथा सामाजिक योगदानमा प्रतिफल दिने गरी सहकार्य गरेर अगाडि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागार्इंले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैंकको बैठकले कोरोना संक्रमणका कारण जारी लकडाउनमा सदस्य संस्थाहरूको कारोबार नभएको र त्यसबाट पर्न गएको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधिमा पाकेको ब्याजको १० प्रतिशत छुट दिएकोमा असार एक गतेदेखि दुुई प्रतिशत ब्याज घटाउने निर्णय गरेको छ । बचत र कर्जामा बढीमा दुुई प्रतिशत कायम हुनेगरी ब्याजदर घटाएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले जानकारी दिए । नेपालको संविधान २०७२ को प्रावधान अनुसार मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रसँगको सहकार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरूलाई आव्हान गर्ने, ७ सय ५३ वटै स्थानीय तहहरूलाई बजेट निर्माणका क्रममा राष्ट्रिय सहकारी बैंकसहित सहकारी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्नका लागि सुझाव दिने निर्णय बैठकले गरेको छ ।
बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्र गिरीका पिता बमबहादुर गिरीको २०७७ जेठ २४ गते भएको निधनप्रति दुख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जलि परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ । बैंकमा हाल १२ हजार सेयर सदस्य रहेका छन् भने सेय रकम दुुई अर्ब छ करोड रूपैयाँ रहेको छ । कुुल निक्षेप ३० अर्ब ९६ करोड रूपैयाँ रहेको बैंकको कुुल कर्जा लगानी २२ अर्ब ५० करोड रूपैयाँ रहेको छ । संस्थाले पछिल्लो अवधिमा ४२ करोड रूपैयाँ खुद मुनाफा कमाएको छ ।