काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नोे दुई सय ६८औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लु नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लु नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रूपमा सेवा दिन सफल भएको हो ।
दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लु शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।
दुल्लु नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन सहयोग पुग्ने बताए । ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रूपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठूलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भने । नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्जालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । डेपुटी सीईओ ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्धता रहेको बताए ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले देशभर दुई सय ६८ वटा शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।