सुबास बस्नेत
दोलखा, जेठ ३२
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सुरक्षाका लागि गरिएको बन्दाबन्दीका कारण सबैतिर काम रोकिए पनि दोलखाको सदरमुकाम चरीकोटदेखि जिरी जोड्ने मुख्य राजमार्ग चरीकोट–जिरी सडक खण्डको कालोपत्रको काम भने निरन्तर भइरहेको छ ।
कोरोनाले गतचैत ११ देखि २० गतेसम्म सडकको निर्माणको काम प्रभावित बनेको थियो । तर सुरक्षात्मक उपाय अपनाएर यो सडक खण्डमा काम गर्न प्रशासनले अनुमति दिएपछि चैत्र २१ गतेबाट सडक कालोपत्रको काम अहिले निरन्तर भइरहेको छ । फागुन अन्तिमदेखि कालोपत्र सुरु गर्ने भनिएको सडकको काम कोरोनाको त्रासले मजदुरहरूले काम नगर्ने र घर जान माग गरेकाले कालोपत्रे सुरु गर्न भने समय लागेको निर्माण कम्पनी उडहिल/लामा जेभीका कन्ट्रक्सन म्यानेजर रवीन्द्र श्रेष्ठले बताए । चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्ड मध्येको ६ किलोमिटर कालोपत्रे पूरा भएको छ । किराँतीछापदेखि भटमासे घुम्तीसम्म कालोपत्रे पूरा भएको हो । अहिले चरीकोटसम्मको खण्डमा कालोपत्रेको काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।
सडक विस्तारको जिम्मा पाएको उडहिल÷लामा जेभीका कन्ट्रक्सन म्यानेजर रवीन्द्र श्रेष्ठले असारसम्म १० किलोमिटर कालोपत्रे पूरा गर्ने बताए । ५५ किलोमिटरको एउटै प्याकेजको ठेक्का रहेको यस खण्डको काम डेढ वर्ष अघि मात्र सुरु भएको हो । अन्य ठाउँमा ग्याबिन, पुल, नाली, टेवा पर्खाल, कल्भर्टको काम भइरहेको छ नाम्दूदेखि मैनापोखरी खण्डमा सब बेसको काम समेत भइरहेको उनले बताए । सडकको परामर्शदाता सिमत–ईआरएमसी जेभी रहेका छन् ।
सडकका परामर्शदाता प्रमुख राजेन्द्र पौडेलले महामारीको बीचमा पनि स्वास्थ्य नै जोखिममा राखेर काम गरिरहेको बताए । स्वास्थ्य सुरक्षा र सतर्कता अपनाउँदै काम गरेको बताए । ३५ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सो सडकमा केन्द्रदेखि दायाँ बायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो । अहिले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माण कम्पनीले चरीकोटदेखि जिरी सम्मको ५५ किलोपमिटर सडक तीन चरणमा कालोपत्र गर्ने तयारीका साथ काम गरिरहेको छ ।