बझाड., जेठ ३२
सुर्मा गाउँपालिका ४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वन पैदावर जडीबुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई चार सय ७ थान यार्सागुम्बासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छविसपाथिभेरा गाउँपालिका ७ बुडखोरी बस्ने ४० वर्षीय जोगिरी धामी, सोही ठाउँ बस्ने विकास धामी, २३ वर्षीय गोबिन्द धामी, २२ वर्षीय विरेन्द्र धामी, हिमाल धामी, सुर्मा गाउँपालिका ५ सैनगाउँ बस्ने २५ वर्षीय जनक जेठारा, २९ वर्षीय बलबहादुर जेठारा, ३९ वर्षीय दानबहादुर लकण्डी र २१ वर्षीय बैरागी लकण्डी रहेका छन् ।
साइपाल गाउँपालिकामा संकलन गरिने यार्सागुम्बा डिभिजन वन कार्यालय बझाङ र सम्बन्धित स्थानीय तहहरूबाट रोक लगाइएकोमा उनीहरूले अनुमति नलिई यार्सागुम्बा संकलन गर्न गएको अवस्थामा प्रहरी चौकी दौलीचौर र भुग्तोली सामुदायिक वनका पदाधिकारी समेतको टोलीले फेला पारी पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरूलाई बरामद यार्सागुम्बासहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बझाङ पठाइएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।