काभ्रेपलाञ्चोक । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आइतबार धुलिखेलमा आयोजित ‘कार्यालयस्तरीय त्रैमासिक समीक्षा एवं सङ्घ, प्रदेश तथा स्थानीयस्तरीय सेवा–प्रवाह र विकास निर्माणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा के व्यवस्था गर्दा राजनीतिक स्थायित्व हुन्छ त्यसका लागि सबैपक्ष जुट्न आग्रह गरेका हुन् ।
राजनीतिक स्थायित्वले दिगो विकास र नवप्रवर्तनलाई निरन्तरता दिनसक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व रहेको उनको भनाइ थियो ।
मन्त्री जोशीले कर्मचारी दुई वर्ष सरुवा नहुने प्रावधान भए पनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको बताए । उनले देशभक्त कर्मचारीले नै नागरिकलाई सुशासन प्रदान गर्ने बताएका छन् । सङ्घीय निजामती ऐन आएपछि कर्मचारीका सबै विषय हल हुनेमा आफू विश्वस्त रहेको उनको तर्क थियो ।
मन्त्री जोशीले एक सय चार स्थानीय तहमा नवप्रवर्तन कार्यक्रमलाई प्रारम्भिक चरणमा मागिएको ८८ करोड रकम निकासा नभई ती तहमा नयाँ कामको सुरुआत गर्न नपाएकामा दुःखेसो पोख्दै संविधान कार्यान्वयनको सिलसिलामा देखिएका कठिनाईलाई सबै मिलेर फुकाउनुपर्ने धारणा राखे ।
सो अवसरमा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हुमकला पाण्डे, काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनालगायतले स्थानीय तहको सेवा–प्रवाहमा सरल एवं सहजतामा ध्यान दिन सुझाव दिएक थिए ।