काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १७ मा रहेको एक टहरामा भएको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । वैशाख २३ गते भएको आगलागीमा घाइते थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
२३ गते भएको आगलागीमा दुई छोरीको मृत्यु भएको थियो भने आज आमाको पनि मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो । आगलागीको भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो ।
आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार जारी छ ।