बाँके । नेपालगञ्ज मेडिकल कलेज टिचिङ अस्पताल नेपालगञ्जमा एक शिशुको मृत्यु भएपछि आफन्तले शल्यक्रियामा लापरबाही गरेको आरोप लगाएका छन् । गत शुक्रबार बिहान अस्पतालमा मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला निवासी ३० वर्षीया जमुना सिंह ठकुरीको शल्यक्रियापश्चात एक नवजात शिशुको मृत्यु भएको हो ।
आफन्तहरूका अनुसार जमुनालाई अस्पतालले वैशाख २७ गते बिहीबार भर्ना गरेको थियो । अर्कोदिन शुक्रबारबिहानसम्म अस्पतालले तोकेको समयमा पनि बच्चा नजन्मिएपछि र सुत्केरीलाई व्यथा नलागेकाले आफन्तले सुत्केरीलाई घर लैजान्छौं । व्यथाले च्यापेपछि आउँछौंभन्दा पनि नमानेपछि स्वास्थ्यकर्मी डा पुनम आचार्यको निर्देशनानुसार सुत्केरी र बच्चाको स्वास्थ्यका कारण देखाई तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनी शल्यक्रियाका लागि अपरेसन थिएटरमा लगिएको अभिभावकको भनाइ छ । शल्यक्रियाअघिको सम्पूर्ण रिपोर्टमा बच्चा र आमाको स्वास्थ्य राम्रो हुँदाहुँदै पनि शिशुको ज्यान गएको सुत्केरीका श्रीमान् खडक जंग शाहीले बताए । आमाको स्वास्थ्य नर्मल रहेको तर बच्चाको स्वास्थ्यस्थिति जानकारी नगराई नवजात शिशुलाई एनआईसीयूमा लगेर केही समयमै मृत बच्चा हातमा थमाएको उनको भनाइ छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूले बच्चालाई राम्ररी हेरचाह नगरेका कारण मृत्यु भएको उनले आरोप लगाए । अहिलेसम्म बच्चाको मृत्युको कारण खुलेको कागज र मृत्यु प्रमाणपत्र नदिएको शाहीको गुनासो छ । शुक्रबार बिहान बच्चाको मृत्युपछि शल्यक्रिया गर्ने डा पुनम आचार्य आइतबार १२ बजेसम्म अनेक बहानामा सुत्केरीलाई भेट्न नआएपछि शल्यक्रियामा लापरबाही र बच्चाको मृत्यु शंकास्पद रहेको आफन्तले बताए । अस्पतालका प्रशासन प्रमुख समक्ष क्षतिपूर्तिको माग गर्न जाँदासम्म पनि प्रशासनपक्ष यस्तो विषयमा अनभिज्ञ रहेको र पीडित पक्षको मागप्रति जिम्मेवारी नलिएको आफन्तले गुनासो गरे ।